काठमाण्डौं, १९ चैत ।
भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र हो । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
घिमिरे तिनै व्यक्ति हुन्, जो गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयान अनधिकृत रुपमा प्रवेश गरेको आरोप लागेको थियो ।
अनधिकृत व्यक्तिलाई व्यवसायीको मिलेमतोमा बजेट निर्माणमा सहभागी गराइएको भन्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठेको थियो र उनले राजीनामा पनि दिएका थिए । तर संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि गर्न नसकेपछि शर्मा पुनः अर्थमन्त्री बनेका थिए ।
