काठमाडौं, १९ फागुन ।
पर्यटक भिसामा नेपाल आएर काठमाडौंमा यौन अखाडा सञ्चालन गरेकी युगाण्डा महिला प्रहरीको फन्दा परेकी छन् । पर्यटक भिसामा नेपाल आएकी युगान्डाकी नताशा भनिने एमाकुलेट नाबासुम्बा महिला प्रहरीको फन्दा परेकी हुन् । नताशालाई युगाण्डाबाट आफ्ना साथी बोलाउँदै यौन व्यवसायमा लगाएको आरोपमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
व्यूरोले फागुन १५ गते उनी बसिरहेको होटलबाटै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो । नताशाले युगाण्डाबाट आफ्ना महिला साथीहरू बोलाउँदै जर्बजस्ती नेपाली तथा भारतीय युवासँग यौन क्रियाकलाप गर्न लगाउने प्रहरीको अुनसन्धानबाट खुलेको छ ।
व्यूरोका एसपी कृष्णप्रसाद पंगेनीका अनुसार नताशाले महिला साथीहरू यौन कार्यमा लगाए बापत ४ देखि ५ हजार रुपैयाँ उठाउँदै गरेको अनुसन्धानबाट खुलेको छ । नताशाले विभिन्न आश्वासन दिई महिला साथीहरुलाई बोलाउने गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनु भयो । व्यूरोका एसपी पंगेनीका अनुसार पछिल्लो समय नताशाले आफ्ना पुराना एक महिला साथीलाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन्।
होटलमा वेटरको काम गरेबापत कम्तीमा ५ सय अमेरिकी डलर कमाइ हुने भन्दै उनले आफ्नी महिला साथीलाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन् । साथी नेपाल आएलगत्तै नताशाले यौन व्यवसायमा लगाएकी थिइन् । दैनिक ५–७ जनासँग शारीरिक सम्पर्क गर्न लगाएपछि एक हप्तापछि उनकी साथी बिमारी परेकी थिइन् ।
त्यसपछि उनी युगाण्डा जान हरेक कोणबाट कोशिस गरिन् तर जान पाइनन् । युगान्डा जान नपाएपछि पीडित महिला सिधै मानव बेचबिखन व्यूरोमा पुगेपछि यो घटनाको रहस्य खुलेको हो । एसपी पंगेनीका अनुसार उनले नताशामाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्म कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी हुन् । जाहेरी परेकै दिन प्रहरीले नताशालाई होटल जर्नी होमबाट पक्राउ गरेको थियो ।
