काठमाण्डौं, ०८ चैत्त ।
सट्टेबाजी खेलाउने गरेको आरोपमा वान एक्स बेटका ६ जना एजेन्ट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। उनीहरुबाट ५३ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी कारोबार भएको खुलेको छ।
पक्राउ पर्नेहरुमा जुम्लाको चन्दननाथ नगरपालिका–६ खलंगाका २३ वर्षीय दिलिप सिंह कठायत, चन्दननाथ नगरपालिका–१० गैरीगाउँका २३ वर्षकै भुपालराज न्यौपाने, चन्दननाथ–५ का १९ वर्षीय नयनराज भण्डारी, सर्लाहीको बलरा नगरपालिका–५ का २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं महानगरपालिका–३२ कावासुदेव पाण्डे र काभ्रेको मादनकुडारी गाउँपालिका–१ का २६ वर्षीय शिवानी तामाङ छन्।
विभिन्न खेलहरुमा उनीहरु वान एक्स वेटमार्फत सट्टेबाजी खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए। उनीहरुबाट सट्टेबाजी खेलाउन प्रयोग गरिएको ३४६ थान सीमकार्ड समेत बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिताको दफा १२५को उपदफा ४ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
