काठमाडौँ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधिमा जति परिवर्तन भए पनि रेडियोको उपयोगिता कहिल्यै नसकिने बताएका छन् । १२ औँ विश्व रेडियो दिवसको अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इनडिजिनियस मिडिया नेटवर्कको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले सोमबार ललितपुरमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलल सञ्चारमाध्यमका नयाँ स्वरुप विकास भए पनि रेडियोको भविष्य सँधै उज्यालो रहेको बताए ।
उनले नेपालका सामुदायिक रेडियोहरूको समस्या समाधानका लागि कानुनी र व्यवस्थापकीय पहल गर्न सरकार तयार रहेको बताए । सामुदायिक रेडियोलाई तल पर्ने गरी कुनै पनि कानुन नबनाइने उनको प्रतिबद्धता थियो । विगतका महत्वपूर्ण आन्दोलन र परिवर्तनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । ‘
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले समावेशीताको सिद्धान्त कार्यान्वयन, लैङ्गिक विभेद अन्त्यका लागि रेडियोको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले संघीय ऐन बिना नै रेडियोको इजाजत दिने काम भइरहेकोमा सरकारको ध्यानाकर्षण गराए । यूनेस्कोका नेपाल प्रमुख मिचेल क्रफ्टले रेडियोले दिने सूचना र जानकारी तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । रेडियोले कुनै व्यक्ति वा वर्गका सीमित विषय पठाउनुनेभन्दा पनि तथ्यमा टेकेर सामग्री बनाउनुपर्ने उनको भनाइ थियो ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले मानव विकास सूचकाङ्कलाई बढाउन सामुदायिक रेडियोको योगदान अविस्मरणीय रहेको टिप्पणी गरे ।
