पोखरा, ०१ फागुन ।
पोखरामा पार्किङ्गको लागि भनेर खाली गर्न लगाइएको वेसमेन्ट ( अन्डरग्राउण्ड ) अझै खाली हुन सकेको छैन् । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि पोखरा महानगरपालिकाले पार्किङ्गको लागि भनेर शहरभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न गत साउनदेखि नै पटक पटक सुचनाहरु जारी गरेको थियो ।
व्यवसायीले अन्डरग्राउण्ड खाली नगरेपछि गत असोजमा ३५ दिने सुचना जारी गरेपछि पनि अटेरी गर्नेहरुमाथि महानगर आक्रमक बन्यो । मेयर धनराज आचार्य सडमै उत्रेर डोजर लगाएर अन्डरग्राउण्ड खाली गर्न लगाउनुभएको थियो । तर केही दिन पछि महानगर सुस्तायो । अझै पनि कतिपय ठाउँका अन्डरग्राउण्ड खाली हुन सकेका छैनन् । पोखराको नयाँबजार, न्यूरोड, विरौटा लगायतका ठाउँका घरहरुमा व्यवसाय नै सञ्चालन गरिरहेको देखिन्छ ।
मेयर आचार्यले भने, अन्डरग्राउण्ड खाली गरे÷नगरेको विषयमा ई. सुरेन्द्र पोडेलको नेतृत्नवमा एउटा टिमले बजारमा अनुगमन गरिरहेको बताउनुहुन्छ । अहिले सम्बन्धित सरोकारवालासँग पनि छलफल चलिरहेकोले अबको एक हप्तामा सबै अन्डरग्राउण्ड खाली गरेर पार्किङ्गका लागि प्रयोग गर्ने आचार्यले दाबी गर्नुभयो ।

पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ। नत्र महानगरले नक्सा पास नै गरिदिँदैन। अन्डरग्राउण्ड पार्किङ बनाएमा सो तलाको पचास प्रतिशत राजश्वसमेत घरधनीले छुट पाउँछन्। राजश्वमा छुट पनि लिन्छन्। तर घर निर्माण भइसकेपछि भने अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग भने अधिकांशले गर्दैनन्। बरु भूइ तलालाई उनीहरुले व्यवसायिक प्रयोजन र गोदाम (भण्डार)का रुपमा प्रयोग गर्ने गरेका छन्।
त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाइकल ग्यारेज, मोबाइल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसल लगायतका व्यवसाय हुने गरेका छन्। एकातिर पार्किङका लागि बनाइएको घरको अन्डरग्राउण्डलाई व्यवसाय गर्ने थलो र गोदाम बनाइरहँदा अर्कोतिर पार्किङको समस्या पोखरेलीले झेलिरहेका छन्। अन्डरग्राउण्डमा भएका व्यवसाय वा सामानहरु हटाएर सवारी पार्किङ्ग गर्न प्रमुख आचार्यले आग्रह गर्नुभएको छ ।
