काठमाण्डौ, १६ कात्र्तिक ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको बारपाक सुलिकोट ४ घर भई अहिले वनस्थली बस्ने २३ वर्षका अजित फेवाली र रानीवन बस्ने विपिन ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले वैदेशिक रोजगार विभागको कार्यालय नजिकै काठमाण्डौको सोल्टिमोडमा वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने ट्राभल्स चलाइरहेको र त्यही ट्राभल्सबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको १२ गते भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि उहाँलाई विमानस्थलबाट फर्काइएको थियो ।
अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो । नक्कली कागजात अजित र विपिनले बनाएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका विपिन र अजितको ट्राभल्सबाट मोबाइल, कम्प्युटर लगायतका सामानसमेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
