काठमाण्डौं, ०६ भदौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ दोर्दी गाउँपालिका–५ फोर्जुङ घर भएका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङ घर भएका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् ।
बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले ¥यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा बुझाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ स्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित काठमाडौं जडिबुटी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका २६ वर्षीय धिरज लामासहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा गाँजा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
