बारा, ०७ भदौँ ।
बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् । भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टी– ५ का ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् ।
पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुरका लागि छुटेको चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेहरुको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।
