पोखरा, १६ फागुन ।
सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सक्से लामा तामाङ (मानबहादुर तामाङ)लाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । प्रहरीले बिहीबार बिहान ८ देखि १२ बजेसम्म पोखरा–१६, दीपमा बनेको ड्याम खोलिने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार सूचना जारी गर्दै तामाङको परिवारले नदीमा बेपत्ता भएका मानबहादुरलाई ड्याम खोलेर खोजतलाज गर्न अनुरोध गरेकाले बिहिवार बिहान ८ देखि १२ बजेसम्म ड्याम खोलिने सूचनामा उल्लेख गरेको छ ।
आइतबार बेलुका पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका २ मध्य मंगा तामाङलाई सशस्त्र र नेपाल प्रहरीले खोजतलाज गर्ने क्रममा मृत फेला पारेको थियो ।
‘उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।
