पोखरा, १८ पुस ।
मित्रमिलन सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पूर्पक्षका लागि थुनामा परेका छन् । कास्की जिल्ला अदालतले मंगलवार उनीसहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका पूर्व रजिस्ट्रार पराजुलीसहित सहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको छ ।
पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरीले विज्ञप्तिमार्फत् जनाएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेकाबेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । पर्वतका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उनी पुस ११ गते नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए । बयानका क्रममा पराजुलीले घुस लिएको विषयमा इन्कारी बयान दिएका थिए ।
मित्र सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी कात्तिक ४ गते नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमा थिए । त्यसपछि प्रहरीले कुल ४ जनालाई पक्रेको छ । रमण पौडेल, किरण अधिकारी, उदयबहादुर पराजुली, गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालमात्र पक्राउ पर्दा दुई दर्जभन्दा बढीचाहिँ फरार छन् ।
