पोखरा, १२ फागुन ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान वडाध्यक्ष गुरूङले असिस्टेन्ट सब इन्जिनियर लक्ष्मण जिसीमाथि हातपात गरेका हुन् । वडाध्यक्षसँग हात हालाहाल हुँदा जिसीको नाकमा चोट लागेको छ ।
काम गर्ने–गराउने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरूङले हातपात गरेको बताइएको छ । वडाध्यक्ष गुरूङले आफूले सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न आग्रह गर्दा नमानेको र त्यही विषयमा धकेलाधकेल भएको प्रतिक्रिया दिए । ‘उसले काम नगर्दा जनतालाई झुट बोलेजस्तो भयो । कार्यालय आएपछि कुरा गर्दा एग्रेसिभ भएर हेल्मेटले मलाई नै हान्लान्जस्तो गरे ।
ममाथि नै आक्रमण गर्नेजस्तो भएपछि डिफेन्स गरेको हुँ,’ उनले भने ।’असिस्टेन्ट सब इन्जिनियर जिसीले वडाध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सुरक्षा माग गर्दै उजुरी दिएका छन् । वडाध्यक्षलाई आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।
