पोखरा, ०९ फागुन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन् ।
उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ । भिडियोमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’
केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध गरेका छन् । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले आफूले पनि यो भिडियो सामाजिक सञ्जालमा देखेको भन्दै यसलाई गम्भीर रुपमा लिनु पर्ने बताउनुभयो । ‘चराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती हो,’ उहाँले भन्नुभयो, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले भने यो घटनाबारे विमानस्थलमा कुनै औपचारिक रिर्पोटिङ नआएको प्रतिक्रिया दिनुभयो । ‘हिजो यो भिडियोबारे मलाई पनि जानकारी आएको थियो, हेरें । तर कहिलेको हो, कहाँ हो, यसबारे कुनै रिर्पोटिङ छैन ।’ उहाँले पोखरा विमानस्थल नजिकै चराको गतिविधि देखिनु सामान्य भएको समेत प्रतिक्रिया दिनुभयो ।
