पोखरा, १८ पुस ।
कास्की प्रहरीले नक्कली फेसबुक आइडी बनाएर ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका –२९ तालचोक बस्ने २२ वर्षीय अनुराग घिमिरे, जिल्ला चितवन रत्ननगर नगरपालिका– १३ टाँडी बस्ने २० वर्षीय प्रवेश रिमाल र जिल्ला सिरहा लाहान नगरपालिका– १ रमाद मटियवरा टोल बस्ने २१ वर्षीय यूनिक सिंह रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले केटीको नाममा फेसबुक आइडी बनाएर पुरुषहरुलाई साथी बनाउने, भिडियो कल गरी अश्लील भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेका थिए ।
उनीहरुलाई सोमबार चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।
पक्राउ परेका तीनै जना विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर र विद्युतीय अपराध सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
