काठमाण्डौं, १५ मंसिर ।
वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–६ घर भएकी ४६ वर्षीया भवानी बोहरालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यता वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
