काठमाण्डौ, ०८ असोज ।
नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरीका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेका छन् । उनले रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको खुलेको छ ।
यसैगरी उनले नागरिकता प्राप्त गरी नेपालका विभिन्न ठाउँमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैसवालको नामको नेपाली नागरिकताबाट लिएको सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ ।
जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइ अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।
