पोखरा, २१ चैत्त ।
न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो । त्यसअघि यही चैत ३ गते चिप्लेढुङ्गामा नगर बसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीले ज्यान गुमाउनुप¥यो ।
यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनालाई दर्शाउँछ । यसरी लगातार जसो भइरहेका दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ । सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन् । सडक दुर्घटना न्यूनीकरण नभएकोमा जनगुनासो बढ्दो छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म कास्कीमा ७९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी २९ जनाले ज्यान गुमाए भने ८९ जना गम्भीर घाइते भए । आव सकिन अझै तीन महिना बढी बाँकी छ । गत वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो ।
आव २०७७÷०७८ मा भएका ६४ सडक दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए । पछिल्ला तीन वर्षको आँकडाले कास्कीमा सडक दुर्घटना बढ्दै गएको देखाउँछ । दुर्घटनाको सङ्ख्यासँगै मानवीय क्षति पनि बढ्दो क्रममा छ । बढ्दो आवादी र सवारी चापले बर्सेनि दुर्घटनाको जोखिम बढाएको हो । पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए ।
नब्बेदेखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको उनको भनाइ छ । “तीव्र गति, मापसे जस्ता कारणबाट बढी दुर्घटना हुने गरेको छ, सहरी क्षेत्रमा हुने दुर्घटनामा साना सवारीसाधनको बढी दोष देखिन्छ”, उनले भने । चालु आवमा भएका ७९ दुर्घटनामध्ये ४४ तीव्र गतिका कारण भएको उनले उल्लेख गरे । स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको छ । “पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ”, प्रहरी वरिष्ठ नायब निरीक्षक पाठकले भन्नुभयो, “ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।” कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नगरको बसको स्पिड तोकिने
पोखरा महानगरपालिकाको प्रमुख सहरी क्षेत्रभित्र सञ्चालन हुने नगर बसका लागि अधिकतम गति निर्धारण गरी कडाईका साथ पालना गराउने निर्णय भएको छ ।
नगर बसबाट भइरहेका गम्भीर प्रकृतिका सडक दुर्घटना कम गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले गति निर्धारण गरी सोको कडाईका साथ पालना गराउने निर्णय गरेको हो ।
सोही बैठकले मापदण्ड बमोजिम सिटी बस स्टप व्यवस्था गरी बस स्टपमा मात्र यात्रु उकाल्ने र ओराल्ने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको नागरिक अभियान्ता रामबहादुर पौडेलले बताए । ‘सहरी क्षेत्रमा सञ्चालित नगर बसलाई गति नियन्त्रण तथा ओभर ट्रयाक गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको छ,’ उनले भने ।
निर्णयहरु पालना गराउन नगर बसका चालक तथा सहचालकलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालनको व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वयमा गर्ने सहमति भएको छ ।
