पोखरा, १० चैत्त ।
आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने रहेको छ ।
क्षयरोग गण्डकी प्रदेशको कास्की जिल्लामा सबैभन्दा धेरै विरामी भेटिएको छ । कास्कीमा सबैभन्दा धेरै ३ सय ६ जना बिरामी फेला परेका हुन् । सबैभन्दा कम मनाङका ३ र मुस्ताङका ४ जना बिरामीले उपचार सेवा लिएको क्षयरोग उपचार केन्द्र पोखराले जानकारी दिएको छ । गत आर्थिक वर्ष गण्डकीमा २ हजार ४ सय ४७ क्षयरोगका बिरामी फेला परेका थिए । जसमध्ये ९२ जनाको मृत्यु भयो । पोखरा महानगरपालिकामा २ सय ९०, अन्नपूूर्ण गाउँपालिकामा ४, माछापुच्छ्रेमा ७, मादी गाउँपालिकामा ४ र रुपमा गाउँपालिकामा १ जनामा टिबी पोजेटिभ भेटिएको छ । गण्डकीमा गएको वर्ष ५ हजार ६ सय ७७ जना बिरामीलाई उपचार सेवामा ल्याउने लक्ष्य थियो । ४३.०७ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ । क्षयरोगीको संख्या बढी भएपनि स्वास्थ्य संस्थामा आउन आनकानी गर्ने प्रदेश क्षयरोग कार्यक्रम संयोजक राजेशकुमार यादवले बताउनुभयो ।
गण्डकी प्रदेशमा क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको छ । अन्य प्रदेशको भन्दा अब्बल रहेको गण्डकी प्रदेशको क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको गण्डकी प्रदेश निर्देनालयले जनाएको छ । प्रदेशमा यो वर्ष १ हजार २ सय ५६ जना क्षयरोगका बिरामीले स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिएका छन् । साउन यता ४ सय ६५ महिला र ७९१ पुरुषले क्षयरोगको उपचार गराएका हुन् ।
नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपनका अझै वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन् । सामाजिक लाञ्छना भेदभावको भयका कारण ठूलो संख्यामा क्षयरोगी उपचारमा नआउने चिकित्सकहरू बताउँछन् । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार आठ सय रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।
केन्द्रका अनुसार आ.व. २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।
क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसे सुक्ष्म किटाणुबाट लाग्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । एक जना क्षयरोगीले वर्षदिनमा १५ जनालाई सार्ने चिकित्सहरु बताउँछन् । क्षयरोगको उपचारका लागि गण्डकीमा ७ सय ४९ डट्स केन्द्र छ । बहुऔषधी प्रतिरोध बिरामीको संख्या बढ्नु क्षयरोग न्युनीकरणका लागि चुनौति बनेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
