पोखरा, १७ चैत्त ।
पोखराको न्यूरोडमा मिनी माइक्रोले शुक्रबार स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चिप्लेढुंगाबाट आउँदै गरेको माइक्रोले सोही दिशाबाट आइरहेको स्कुटरलाई ठक्कर दिएको थियो । ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले ठक्कर दिएको हो ।
घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर तल पु¥याएको थियो । प्रहरीले सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ ।
