काठमाण्डौं, २० चैत्त ।
आगामी बैशाख ४ गते तीनवटा निर्वाचन क्षेत्रमा उप–निर्वाचन हुँदैछ। तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उप–निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले जित्ने दाबी गर्न थालेका छन्। उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेपाली कांग्रेसले २, जसपा १ र जनमतले १ स्थानमा उम्मेदवार उठाएका छन्। सत्ता गठवन्धनभित्र रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएका छैनन्।
तनहुँ १ मा उप–निर्वाचनका लागि सत्ता गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराए। उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गर्ने छ। राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले उक्त क्षेत्रमा पुनः जित हात पार्नुपर्ने दबाब भट्टराईलाई छ। पौडेलका कारण निर्वाचनमा भाग लिन नपाएका भट्टराईका लागि यो अवसर पनि हुने छ। उक्त क्षेत्रमा नेकपा एमालेले पूर्व आइजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।
मंसिर ४ मा भएको निर्वाचनमा पराजित भएको एमाले उक्त पराजयलाई जितमा बदल्ने सोचमा छ। त्यस्तै उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस परित्याग गरेका अर्थविद स्वर्णीम वाग्ले पनि मैदानमा छन्। वाग्लेको आगमनसँगै यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
चितवन–२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छन्। उनलाई टक्कर दिन सत्ता गठबन्धनले नेपाली कांग्रेसका तर्फबाट जित नारायण श्रेष्ठलाई अगाडि सारेको छ। श्रेष्ठलाई माओवादी र एकीकृत समाजवादीले सर्मथन गरेका छन्। अघिल्लो पटक नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ उक्त क्षेत्रबाट पराजित भएका थिए।
गत मंसिरमा भएको निर्वाचनमा लामिछानेले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए। लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए।
बारा–२
बारा क्षेत्र नम्बर २ मा पनि उप–निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लड्ने तयारी गर्दादेखि चर्चा थियो। उनलाई टक्कर दिन जनमत पार्टीका अध्यक्ष सिके राउत आफैं फिल्डमा उत्रेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त क्षेत्रमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई मैदानमा उतारेको छ।
त्यस्तै राउतका तर्फबाट मैदानमा रहेका उम्मेदवार यसअघि निकटतम प्रतिस्पर्धी थिए। तत्कालीन समयमा उनी सत्ता गठबन्धनका उम्मेदवार थिए भने यसपटक जनमत पार्टीबाट उम्मेदवार बनेका छन्। मंसिर ४ गते भएको निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए। जसपाका यादव उपरााष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको थियो। तत्कालीन समयमा यादवले १३ हजार ८ सय २२ मत प्राप्त गरेका थिए भने माओवादीका तर्फबाट उम्मेदवार भएका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए।
त्यस्तै उक्त क्षेत्रमा नेकपा एमालेले पुरुषोत्तम पौडेलाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा यादवलाई नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीले सर्मथन गरेका छन् भने जनमत र रास्वपा एक्ला एक्लै निर्वाचनको मैदानमा छन्।
