पोखरा, ०८ चैत्त ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने भएको छ । नेपाल सरकार, पाटा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे २९ देखि जुन १ गतेसम्म पोखरामा शिखर सम्मेलन हुन लागेको हो ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पाटाका महासचिव सुमन पाण्डेले पाटा शीखर सम्मेलनसहित पाटाको बोर्ड बैठक, वार्षिक जनरल मिटिङ, जनरल बोर्ड मिटिङसमेत पोखरामै हुने जानकारी दिए । नेपालले पहिलो पटक पाटा वार्षिक शिखर सम्मेलन र तेस्रो पटक एड्भेन्चर मार्ट आयोजना गर्न लागेको हो ।
कोरोना महामारीले सुस्ताएको नेपालको पर्यटनलाई उठाउन पाटा शिखर सम्मेलनले ठूलो भूमिका खेल्ने पाण्डेले विश्वास व्यक्त गरे । नेपालको पर्यटन बजारमा पोखराको पर्यटनले ठूलो प्रभाव पार्ने भएकाले शिखर सम्मेलन पनि पोखरामै हुन लागेको पाण्डेले सुनाए ।
शीखर सम्मेलनमा करिब १५ देशका पाटा कार्यकारी बोर्ड सदस्यहरु सहभागी हुने उनले जानकारी दिए । शिखर सम्मेलनका अवसरमा हुने एड्भेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोजक पाटाले जनाएको छ । कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना हुने नेपाल पर्यटन बोर्डका कार्यकारी डा प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए ।
उनले हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन र पोखरामा भएको हवाइ दुर्घटनापश्चात फैलिएको गलत अपवाहलाई चिर्न पनि महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
