पोखरा, ०५ फागुन ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनासँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको ‘वृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो धारणा राखेका हुन् ।
उनले आदिवासी जनजाति समुदायको जनसँख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताए । ‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौं । सँख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौं, मन्त्री गाहामगरले भने, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’
उनले एकताले मात्रै पहुँच स्थापना हुन नसक्ने बताउदै शैक्षिक सशक्तिकरणको आवश्यकता रहेको उल्लेख गरे । मन्त्री गाहामगरले जनजाति साँस्कृतिक हिसाबले धनी रहेको बताउदै संरक्षणको जरुरी रहेको बताए । ‘हामी कल्चर र नेचरले धनि छौं, यसको संरक्षण हुन नितान्त जरुरी । तपाइहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ । । किनभने हाम्रो मौलिक तथा ऐतिहासिक संस्कृति र परम्परा बचाउनुपर्ने अवस्था आएको छ ।’ उनले भने ।
मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिएका थिए ।
