काठमाण्डौं, २८ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको नतिजालाई चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् । केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनको नतिजालाई गम्भीर रुपमा हेर्नु पर्ने उल्लेख गरेका छन् ।
‘नेकपा एमालेले उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो’, प्रतिवेदनमा उल्लेख छ । उपनिर्वाचनको नतिजाले सत्ता गठबन्धनको विकल्प एमाले हो भन्ने तथ्यमै प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘गतः वर्ष मंसिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणााम आउनु गम्भीर विषय हो’, प्रतिवेदनमा भनिएको छ ।
यस्तो नतिजा आउनुको कारणबारे गम्भीर समीक्षाको आवश्यकता प्रतिवेदनमा औल्याइएको छ । ‘सम्बन्धित जिल्ला र प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरुलाई अविलम्ब सच्याउनुपर्छ’, ओलीको प्रतिवेदनमा भनिएको छ । ओलीले सत्तारुढ गठबन्धनको कार्यशैलीले उत्पन्न नागरिक निराशाका कारण नयाँ राजनीतिक शक्तिको उदय भएको निष्कर्ष निकालेका छन् । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले नागरिक निराशालाई नयाँ शक्तिले उपयोग गरेको उल्लेख गरेका छन् ।
‘खासगरी युवा मतदाताहरु, शहरी जनमत र प्रवासी नेपालीहरुका बीचमा पपुलिज्मले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरुप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ’, प्रतिवेदनमा लेखिएको छ । तर असन्तुष्टिलाई पपुलिज्मले उपयोग गरेपनि नयाँ शक्तिहरुले समाधान दिन नसक्ने ओलीको निष्कर्ष छ । ‘पपुलिज्मको सीमा के हो भने उसले मौजुदा समस्या र कमजोरीहरुलाई उजागर गर्न सक्छ, प्रश्न खडा गर्न सक्छ र जनअसन्तुष्टिहरुलाई राम्रैसँग उपयोग गर्न सक्छ’ प्रतिवेदनमा लेखिएको छ, ‘तर समाधानका विकल्प दिन सक्दैन’, ओलीको प्रतिवेदनमा भनिएको छ ।
सही दर्शन र विचारधारा नभएकाले नयाँ शक्तिहरुले समाधान दिन नसक्ने उनको निष्कर्ष छ । ‘सही दर्शन र विचार नभएको, अर्थ–राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी आधारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीतिक विकल्प भने हुन सक्दैन’, ओलीले प्रतिवेदनमा लेखेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयेगले खुट्टा कमाएको बताउनुभएको छ । बिहीवारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले ’क्यान्टनमेण्ट’ काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गर्नुभयो ।
उहाँले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाउनु भयो । उहाँले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गर्नुभयो। नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटीरुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उहाँले बताउनु भयो । ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनु भयो ।
उहाँले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भन्ने हिसाबले चलखेल भइरहेको आरोप पनि लगाउनु भयो । नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । ओलीले भ्रष्टाचारकोविरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप लगाउनु भयो । उहाँले संसदमा केही दिन अघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको बताउनु भयो ।
ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरेका छन् । तर आफूले टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भनेर आफूले नसोचेको ओलीले बताए ।
टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर त्यसअनुसार व्यवहार नभएकाले उनलाई अनुसन्धानमा सहयोग गर्न भनिएको ओलीले बताए । उनी निकटका मान्छेले आफूलाई फोन गर्दा आफूले प्रहरीमा उपस्थित भएर सामना गर्नुस् र अनुसन्धानमा सहयोग गर्नुस् भनेको ओलीको भनाइ छ ।
