पोखरा, २२ फागुन ।
होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । उनीहरूले एकआपसमा रङ दलेर शुभकामना साट्दै होली मनाएका हुन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा आएका विदेशी पर्यटक रङसँग रमाए । होलीको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।
पोखरा महानगरपालिका–६ अम्बोटबाट नाचगान गर्दै र रङ दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे । पहिलो पटक होलीमा सहभागि भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए । रङको पर्व होलीमा रमाउन पाउँदा उनीहरूले खुसी व्यक्त गरे । आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यवसायीले होली महोत्सवको आयोजना गर्दै आएका छन् ।
होली विशेष कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाइडमा आउने पर्यटक रमाउने गरेका व्यवसायीहरू बताउँछन् । होलीमा पोखरामा कार्यक्रम हुन थालेपछि पोखरा पर्यटकको आकर्षणका साथै कार्यक्रम गर्ने स्थलका रूपमा समेत विकसित भएको कार्यक्रम संयोजक वीरेन्द्र शेरचनले बताउनुभयो । पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले होली लक्षित गर्दै पोखराका चोक तथा गल्लीमा ब्यापक सुरक्षा चेक जाँच गरिरहेको जनाएको छ। होलीको दिनमा क्षमता भन्दा बढी मोटरसाइकलमा चढ्ने, हेलमेट नलगाउने, तीब्र गतिमा सवारी चलाउने, चर्को आवाजमा हर्न बजाउँदै लापरवाही तवरले सवारी चलाउने तथा मापसे गरी सवारी चलाउनेलाई लक्षित गर्दै प्रहरीले ठाउँ –ठाउँमा चेक प्वाइन्ट राखी निगरानी बढाएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म सवारी नियम विपरित सवारी चलाउने दुई दर्जन बढी सवारीलाई नियन्त्रणमा लिइएको छ।
