काठमाण्डौं, १९ वैशाख ।
नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप प्रतियोगिताको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो । योसँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा नेपालले सहभागित जनाउने छ । जहाँ नेपालले भारत र पाकिस्तानविरुद्ध खेल्ने छ ।
सोमबार भएको नेपाल र यूएईबीचको खेल निरन्तर वर्षाका कारण रोकिएपछि मंगलबार रिजर्भ डेमा पुनः खेल भएको हो । यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि गुल्शन झाले अर्धशतकीय इनिङ खेले । उनले ८४ बलमा ६७ रन बनाए । यस्तै भीम सार्कीले ७२ बलमा ३६ रन बनाए ।
यूएईका लागि रोहन मुस्ताफाले दुई विकेट लिए भने आयान अफ्जल खानले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ३३.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए ।
