पोखरा, १६ फागुन ।
गण्डकी प्रदेश सभाको आगामी बुधबारको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने भएका छन् । प्रदेश प्रमुखले सो दिन दिउँसो २ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
संविधानको धारा १८४ को उपधारा २ मा भएको व्यवस्थाअनुसार प्रदेश प्रमुख गुरूङले सभालाई सम्बोधन गर्न लागेका हुन् ।
उक्त उपधारामा प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था छ ।
गत ४ मंसिरमा भएको प्रदेश सभा चुनावपछि बसिरहेको चालु पहिलो अधिवेशनलाई प्रदेश प्रमुख गुरूङले सम्बोधन गर्न लागेका हुन् ।
