HomeBreakingमित्रमिलन सहाकारी ठगी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ

मित्रमिलन सहाकारी ठगी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ

पोखरा, २७ पुस ।

पोखराको समस्याग्रस्त सहकारी मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्य अधिकारी पक्राउ परेका छन् । पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले लेखा सुपरिवेक्षण समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा दोषी देखिएका अधिकारी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार थिए ।

५७ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पोखरा महानगरपालिका– १३ कसेरीस्थित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका अधिकारीलाई बुधबार नै प्रहरीले अदालतमा उपस्थित गराएकोमा अदालतको काम नसकिएपछि हाल प्रहरी हिरासतमा राखिएको विकले जानकारी दिए ।

सहकारी ठगीमा संलग्न भएको आरोप लागेका ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो ।

प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो । त्यसअघि ६ पुससम्म गरी सात सय १४ वटा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

ती जाहेरीमा उल्लेख भएका रकम जोड्दा २० करोड ५० लाख ८२ हजार १९ रुपैयाँ ३२ पैसा पुगेको थियो । सहकारीमा कुल बचतकर्ताको संख्या तीन हजार चार सय ४६ जना रहेकोमा प्रहरीमा परेको जाहेरीसँगै प्रतिवेदन, अन्य ठगी भएको रकम र उजुरी दिन नआएका बचतकर्तासमेतको रकम हिसाबसँगै आवश्यक अन्य अध्ययनपछि ३१ करोड ७८ लाख ठगी भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेर बुझाएको विकले जानकारी दिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुस १७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार पराजुलीसहित सहकारी सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी पनि पुर्पक्षका लागि थुनामा छन् । कात्तिक ४ पक्राउ परेका अध्यक्ष पौडेल र कार्यकारी अधिकृत अधिकारीको बयानको आधारमा कुश्माका प्रमुख प्रसाशकीय अधिकृत पराजुली तानिएका हुन्।

मित्रमिलन सहकारी प्रकरणमा पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायतलाई पक्राउ ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। हालसम्म ७ जना पक्राउ परेका छन्। २५ जना अझै फरार छन्।

RELATED ARTICLES

Most Popular

Recent Comments