HomeBreakingमुहान सुक्न थालेपछि पोखरामा खानेपानीको हाहाकार, अनावश्यक पानी खर्च नगर्न आग्रह

मुहान सुक्न थालेपछि पोखरामा खानेपानीको हाहाकार, अनावश्यक पानी खर्च नगर्न आग्रह

पोखरा, ०८ वैशाख ।

पोखरा र आसपासका क्षेत्रमा पानी नपर्दा खोला र नदीमा पानीको मात्रा घटेको छ । मुहान सुक्न थालेका छन् ।

पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत मर्दीखोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानीको समस्या भएको छ । नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना नै निकालेको छ । पोखरा महानगरभित्र कतिपय ठाउँमा पानी वितरणमा समस्या आएको सूचनामा उल्लेख छ ।

अनावश्यक पानी खर्च नगर्न कार्यालयले उपभोक्तालाई आग्रह गरेको छ । पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सब–इञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । पोखरामा पानीका लागि मर्दीखोला मुख्य स्रोत र त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा नै पानी घटेका कारण समस्या भएको उहाँको भनाइ छ ।

खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताउनुभयो । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उहाँले बताउनुभयो । अहिले पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिनुभयो । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ ।

पोखरामा संस्थानबाट झण्डै ४८ हजार धारा जडान भएका छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments