पर्वत, १६ पुस ।
पर्वतको मोदी गाउँपालिका–२ मा तरुल खोज्न जङ्गल गएका एक पुरुषको हत्या भएको छ । हिजो दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका देउपुरका ४० वर्षीय उदय रिजालको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीका अनुसार रिजालसँगै त्यही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा तरुल खन्न जङ्गल गएका थिए ।
नेपालीले पुरानो रिसिबीका कारण तरुल खन्न प्रयोग गरिएको हतियारले रिजाललाई घाइते बनाएको स्वीकार गरेका प्रहरीले जनाएको छ । अचेत अवस्थामा फेला परेका रिजाललाई पर्वत अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै, घाइते भएका श्रीराम शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको जिसीले जानकारी दिनुभयो ।
हत्या आरोपमा नेपालीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
