पोखरा, २७ चैत ।
पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायले बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेका हुन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गरेका थिए । नेपाल एयरलाइन्स पूर्ण व्यवसायिक बनाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गर्न अवश्यक जहाजहरू खरिद गर्न व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरे ।
कम्तीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्न व्यवसायीले ध्यानाकर्षण गराएका छन् । पोखरा उद्योग वाणिज्य संघ, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, होटल संघ पोखरा लगायत विभिन्न संघ, संस्था तथा उद्योगी व्यवसायीले आफूहरु निकै अप्ठ्यारोमा परेको गुनासो गरेका छन् । कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्न व्यवसायीले आग्रह गरेका छन् । बैंक व्याजदर एकल अंकमा झार्नुपर्ने उनीहरुको माग छ ।
बैंक तथा वित्तीय संस्थाले पर्यटनमा अनिवार्य लगानी गर्नुपर्ने साविककै नीतिलाई ब्युँत्याउन पनि व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय संघ सस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न पनि व्यवसायीहरुले माग गरे । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरुको सुधार गर्नुपर्ने र पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाएदिन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
नेपाल पर्यटन बोर्डको बजेट नितान्त पर्यटन प्रवर्द्धनका लागि विनियोजन र खर्च गर्न व्यवसायीले माग गरेका छन् । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड अनिवार्यको व्यवस्था अनिवार्य नगर्न, पदयात्रामा मात्रै गाइड र सहयोगी अनिवार्य गर्न र मोटर गाडी जाने ठाउँमा यो नियम नलगाउन पनि व्यवसायीले आग्रह गरेका छन् । साहसिक पर्यटनको मुख्य गन्तव्य पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडानलाई असर नगर्ने गरी पूर्ववत स्थापित गर्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा मन्त्री फेरिएपिच्चे खुला गर्ने भनेर चर्चा कमाउने तर नखोल्ने गरिएकोमा व्यवसायीले असन्तुष्टि जनाएका छन् । उनीहरुले यी सम्पदा सधैं खुला गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
