Homeदेशप्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

काठमाण्डौँ, २५ फागुन ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनवाई हुँदैछ । प्रधानमन्त्री विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आजबाट पहिलो चरणको सुनुवाई हुन लागेको हो । द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा प्रधानमन्त्रीविरुद्ध रिट दायर भएको थियो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार रिट दायर गरेका हुन् ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा नियमित अदालतमा हेर्न नहुने भन्दै प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनहरुले रिट दर्ताको विरोध गरेका छन् । विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्नुपर्ने उनीहरुको माग छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments