पोखरा, २० फागुन ।
पोखरामा आज दिउँसो एक्कासी हावाहुरी चलेर डुङ्गा पल्टिदा बेहोस् भएकी बृद्धाको मृत्यू भएको छ । एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा बेहोस् भएकी सोहि डुङ्गामा सयर पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । बेहोस् अवस्थामा गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएपनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले तालमा डुबेकी बृद्धाले पानी धेरै खाएकाले उनको मृत्यू भएको बताए । ‘पानी धेरै खाएकाले उनको मृत्यू भएको देखिन्छ । थप कुरा पोष्टमार्टमपछि थाहा हुन्छ’–उनले भने ।
अकस्मात रुपमा शनिबार दिउँसो हावाहुरी चल्दा फेवातालमा डुङ्गा सयर गरिरहेका एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । तत्काल ९ जनाको उद्धार भयो ।सबैले लाईफ ज्याकेट लगाएपनि महिलालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको प्रहरीको भनाई छ । अन्य भने सहजै बाहिर निस्किएका थिए ।
दिउँसो अकस्मात हावाहुरी चल्दा पल्टिएका अन्य चार वटा कायकलाई पनि सुरक्षित रुपमा उद्धार गरिएको थियो । बैदाम प्रहरी ईञ्चार्ज वेदप्रकाश जोशीले पल्टिएका कायक र डुङ्गाको तत्कालै उद्धार गरिएको बताए । ‘हामीले चाँडै उद्धार गर्न सकेकाले मानवीय क्षेती हुनबाट जोगाउन सफल भयौं’–उनले भने ।
