पोखरा, १२ फागुन ।
मालपोत कार्यालय कास्कीका कर्मचारी घुस लिदै गरेको भेटिएका छन् । कार्यालय परिसर भित्रै एक कर्मचारीले लिएको घुस तीन जनाले बाडेका हुन् ।
लमजुङका टकबहादुर सार्कीले जग्गा रोक्काको लागि श्रेष्ता निकाल्न जाँदा मालपोत कार्यालयका कर्मचारी प्रेमप्रसाद वास्तोलाले १५ सय रुपैँया घुस लिएका हुन् । वास्तोलाले १५ सय घुस लिएर उद्धव ढुङ्गेल र गोविन्दप्रसाद अर्याललाई ५÷५ सय बाडेका थिए । तीनै जनाले घुस लिएको स्विकार्दै रकम सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिदिएका छन् ।
मालपोत कार्यालयका कार्यालय प्रमुख रामचन्द्र अधिकारीले आफ्नो कमर्चारीले घुस लिन्छन् भनेर सपनामा पनि नसोचेको भन्दै घट्नाले आफुलाई दुःखी बनाएको प्रतिक्रिया दिनुभयो । अब आगामी दिनमा यस्ता कार्य हुन नदिनेमा आफू सचेत रहने बताउँदै अधिकारीले घुस लिने तीनै जना सजायको भागीदार भएकोले आवश्यक कारवाहीको लागि मालपोत कार्यालयले प्रक्रिया अगाडी बढाउने जनाउनुभयो ।
