पोखरा, ०३ फागुन ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गर्नुभएको छ ।
समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताउनुभएको हो ।
उहाँले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताउनुभयो । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उहाँले भन्नुभयो ।
अर्को एक प्रसंगमा उहाँले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको जिकीर समेत गर्नुभयो । उहाँले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताउनुभयो ।
