पोखरा, १४ भदौ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ४ की ५६ वर्षीया दीपा कोइराला रहेकी छन् ।
सहकारीका निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीअनुसार सहकारी ठगी कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आज पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
