पोखरा, १२ असार ।
मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारालाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
‘अवस्था सिरियस रहेको छ । अन्य २ जना (हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार), सकुसल उद्दार गरिएको’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘घरमा पूर्ण रूपमा क्षति भएको छ।’
यता पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए ।
सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए । ‘सडक मर्मत गरेर खुलाउने प्रयास भइरहेको छ । कुनै मानवीय क्षति छैन’, उनले भने ।
गत २४ घन्टामा पोखराको लामापाटन जल मापन केन्द्रमा १३४.२ मिलिमिटर वर्षा मापन गरिएको छ । २४ घन्टाको अवधिभित्र १२० मिलिमिटर वर्षा भएमा त्यसले क्षति पु¥याउने जोखिम रहन्छ ।
२ दिनअघिमात्रै पोखराकै जिरोकिलोमिटरमा पनि सडक भासिएको थियो । पोखरामा सामान्य वर्षामै पनि जमिन भासिने समस्या व्यहोर्दै आएको छ । पोखराको माटो चुनयुक्त भएको र पानीसँग घुलेर जाँदा जमिन भासिने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।
