पोखरा, ०८ मंसिर ।
जिल्ला प्रहरी कार्यालय कास्कीले कौडाको खालबाछ ६ जनालाई पक्राउ गरेको छ । बिहिवार पोखरा महानगरपालिका–२२ खाल्सेका भेषबहादुर गुरुङको घरबाट उनीसहित ६ जनालाई प्रहरीले कौडा खेल्दै गर्दा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भेषबहादुर गुरुङ सहित पोखरा–१० अम्मरसिंहचोेका बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोककासुरेन्द्र शाह, पोखरा–१५ रामबजारका दिपेन्द्र सेन, पोखरा–२६ विजयपुरका खम्बसिंह राना र पोखरा–२६ बुढिबजारका डोरबहादुर गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट ८२ हजार ९९० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘जुवा खेलाउन जमिनमा खाडल खनेर लाइनको तार समेत जडान गरेको गोलाकार सेन्सर मेसिनसमेत फेला परेको छ’, उनले भने । रिमोट जडान गरेर जुवा खेलेको फेला परेको थियो ।
नियन्त्रणमा लिएका विरुद्ध सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) मुद्वामा अनुसन्धान थालिएको डिएसपी विकले बताए । जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ ।
अझ, रोचक त के छ भने जुवाडे पक्राउ गर्न गएको प्रहरीले हर्नेट १ नाल हतियारसमेत फेला पारेको छ । भेषबहादुरको घर खानतलासी गर्दा हर्नेट १ नालसहित त्यसमा लाग्ने २४ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सोही हतियारमा लाग्ने १ थान म्याग्जिनपनि बरामद गरिएको छ ।
जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्वा लागेका भेषबहादुरलाई हातहतियार तथा खरखजना सम्बन्धि कसुरसमेत लागेको छ ।
