पोखरा, ०८ जेठ ।
सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यम बहादुर बिक, सोही महानगरपालिका–९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी तथा २० वर्षीय लक्ष्मण सिंह, सोही महानगरपालिका–७ बस्ने २२ वर्षीय बिकाश श्रेष्ठ र सोही महानगरपालिका–२६ बस्ने २८ वर्षीय साजन परियार रहेका छन् ।
पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषधजन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरूलाई दुःख हैरानी दिईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
